परिवार नियोजन कार्यक्रम:

गुणस्तरीय परिवार नियोजनका सेवाहरुको पहुँच तथा प्रयोगमा वृद्धि गरी आमा तथा बालबालिकाहरुको स्वास्थ्य स्थितिमा सुधार एवम् सम्पूर्ण परिवारको जीवनको समग्र गुणस्तरमा सुधार ल्याउने यस कार्यक्रमको मुख्य उद्देश्य हो ।छोटो अबधिको अस्थाइ परिवार नियोजनको साधन (कण्डम, पिल्स, डिपो) सबै स्वास्थ्य संस्थामा उपलब्ध छन् र लामो अबधिको अस्थाइ परिवार नियोजनको साधन (इमप्लान्ट, आइ.यु.सि.डी.) तथा स्थाइ बन्ध्याकरण सिमित स्वास्थ्य संस्थामा उपलब्ध छन् ।

सुरक्षित मातृत्व कार्यक्रम:

सुरक्षित मातृत्व कार्यक्रमको लक्ष्य मातृ र नवजात शिशु बिरामी र मृत्युदर घटाउनुका साथै रोकथाम र प्रवर्द्धनात्मक गतिविधिहरू मार्फत मातृ र नवजात शिशुको स्वास्थ्यमा सुधार गर्नु हो।सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत नि:शुल्क गर्भवती जाँच, प्रसुती सेवा, सुत्केरी जाँच, नवशिशु उपचार र प्रजनन् रुग्णताको व्यवस्थापन गर्ने सेवाहरु रहेको छ।

सुरक्षित गर्भपतन कार्यक्रम:

असुरक्षित गर्भपतनबाट हुने मातृ मृत्यु दरलाई घटाउन नेपालले वि. सं. २०५९ साल देखि सुरक्षित गर्भपतन सेवालाई कानूनी मान्यता दिएको हो।सुरक्षित गर्भपतन सेवाको सर्वसुलभ र सर्वव्यापि पहुँच बढाउनका लागि नि:शुल्क सुरक्षित गर्भपतन सेवा कार्यक्रमलाई वि. सं. २०७३ साल देखि लागु गरिएको छ।सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध छ।